नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

परियोजना कार्यान्वयन एकाई

बर्दिया


कार्यालय प्रमुख

Image

श्री कृष्ण धिताल

कृषि अधिकृत
9858034444
dhitalkrishna@gmail.com

दुई शब्द

नोवल कोरोना भाईरस वा COVID‍-19 को महामारी लगायतका विभिन्न विषम परिस्थितिले विश्व परिवेशमा खाद्यसुरक्षाको महत्व बढ्दै गएकोछ । अर्को शब्दमा भन्दा उल्लेखित परिस्थितिले विश्व आआफ्नो खाद्य सुरक्षामा बढी संवेदनशील भएर नीति निर्माण गर्ने सम्भावना बारे स्पष्ट संकेतहरु देखिएकाले अन्य मुलुकहरुबाट खाद्य बस्तु आयात गरी राष्ट्रिय आवश्यकताको परिपूर्तिको सम्भावना न्यून देखिन्छ । त्यस्तो नीति नबने पनि आयात निर्यातको वातावरण पनि पूर्ववत सहज छैन । यसले अर्को आवश्यकता तर्फ संकेत गर्दछ; आत्मनिर्भरताको- राष्ट्रीय, प्रादेशिक तथा स्थानीय । आत्मनिर्भरता औद्योगिक तथा कृषि उत्पादन दुबैका लागि जरुरी हुनेछ ।

यस परियोजना कार्यान्वयन एकाईको सम्बन्ध खाद्य बस्तुमा आत्मनिर्भरतासङ्ग भएकोले सोही सन्दर्भलाई मात्र जोड्ने प्रयास गरेकोछु । खाद्यबस्तुमा आत्मनिर्भरताको कुरा गर्दा खाद्यान्न अग्रपंतिमा आउँछ र खाद्यान्नमा धान अथवा चामल । धान नेपालमा सबैधन्दा धेरै क्षेत्रफलमा खेती गरिने तथा नेपालको कूल गार्ह्रस्थ्य उत्पादनमा सबैभन्दा बढी (लगभग ५ प्रतिशत) योगदान गर्ने मुख्य खाद्यान्न बाली हो । हाल नेपालमा लगभग १४५८९१५ हे. क्षेत्रफलमा धान खेती भै लगभग ५५५०८७८ मे.ट. उत्पादन हुने गरेको छ । तथापि यो उत्पादनले नेपालको चामलको आवश्यकतालाई परिपूर्ति गर्न सकेको छैन । त्यसैले लगभग ३० अरब रुपैंया बराबरको चामल विदेशबाट आयात भै नेपालमा खपत हुने गरेको छ । यसले गर्दा हामी नेपालीहरुले मेहनत गरी कमाएको धेरैजसो कमाई विदेशिने गरेको छ । यसरी विदेशिने रुपैंयालाई कम्तिमा नेपाल मै रहने वातावरण मिलाउन सके हाम्रो कमाईको अंश अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने हुन्छ ।

यसका लागि प्रथमतः हाम्रो खानपानको आचरणलाई बदल्नु वा सुधार गर्नु पर्दछ । यो आयात मूलतः मशिना तथा वाशनादार चामलको हुने गरेको छ । यदि आफुसङ्ग उपलब्ध मोटा चामलको भात पनि खाने गर्ने हो भने नेपालको धान उत्पादन अहिले देखिए जस्तो न्यून रहने छैन । विदेशिने रकमको ठूलो अंश वचत गर्न सकिन्छ । तर हामिलाई जस्तो गुणस्तरको भए पनि मसिना र वासनादार चामल विदेशबाट आयात गरेरै भए पनि खानु परेकोछ । खाना फेशन हैन आधारभूत आवश्यकता हो र हाम्रो स्वास्थ्यलाई विचार गरी खाना खाने आचरण विकास गर्नुपर्ने अहिलेको आवश्यकता हो । हाम्रो आहार आचरण हाम्रो उत्पादन अनुरुप हुनु पर्दछ । अर्को रणनीति उपभोक्ताको माग अनुरुप हाम्रो उत्पादनलाई रुपान्तरण गर्नु हो । हामीले खेती गर्ने धानका जातहरु बजारमा माग हुने चामलहरु अनुरुप मशिना तथा वास्नादार धानका जातहरु तर्फ नै क्रमशः केन्द्रित हुनु पर्ने देखिन्छ । त्यस्तै हालको हाम्रो धानको औषत उत्पादकत्व, खेतीका लागि उपलब्ध श्रमको अभाव, कृषि पेशामा युवापुस्ताको न्यून रुची तथा प्रति इकाई खेतीको अधिक लागतलाई मध्यनजर गरी धान खेतीलाई यान्त्रिकरण सहित उन्नत प्रविधियुक्त सम्मानित व्यवसायको रुपमा स्थापित गर्नु अर्को आवश्यकता हो । सबैभन्दा महत्वपूर्ण आवश्यक रणनीति भने धान उत्पादन र आवश्यकताको नकारात्मक वासलातलाई सन्तुलनमा ल्याउन धानको उत्पादन बढाउनु नै हो । धान खेतीको हकमा वर्षे सिजनमा लगभग खेतीयोग्य पुरै जमिनमा धान खेती भैरहेको सन्दर्भमा उक्त सिजनमा खेतीको क्षेत्रफल वृद्धि गरी उत्पादन बढाउन सम्भव छैन । तसर्थ उत्पादन बढाउने अर्को उपाय एक वर्षमा एक भन्दा बढी धान बाली लिनु हुन्छ । नेपालको तराई क्षेत्रमा तीन वटै सिजन (वर्षे, हिउँदे र चैते) मा धान खेती गर्न सकिने भए पनि वर्षे धानको अलावा तत्कालका लागि चैतेधानको क्षेत्र विस्तार गरी उत्पादन बढाउनु अति सम्भाव्य तथा उपयुक्त देखिन्छ । यसबाट साधारणतया हामीले एक वर्षमा गर्ने गरेको दुई बालीबाट बृद्धि गरी तीन बाली खेती हुने स्थितिमा पुर्याई न्यूनतम एकबालीको आम्दानी थप लिन सकिने हुन्छ भने विदेशबाट हुने चामलको आयातलाई पनि क्रमशः घटाई देशलाई आत्मनिर्भर बनाउन सकिने छ । वैज्ञानिक रुपमा चैते धानको उत्पादकत्व सामान्यतया वर्षे धान भन्दा बढी हुने पनि प्रमाणित भैसकेको छ ।

देशलाई चामलमा आत्मनिर्भर बनाउने यस अभियानमा बर्दिया जिल्लाको यस राजापुर क्षेत्रले ठूलो योगदान दिन सक्छ । कर्णाली नदीको पानीले राजापुर सिंचाई योजना मार्फत सामान्यतया वर्ष भरी सिंचाई गर्न सकिने लगभग १४००० हेक्टर उर्वर भूमी भएको यस टापु क्षेत्रमा सिंचाई पुर्वाधारहरुलाई थोरै व्यवस्थापन गर्न सकियो भने लगभग ८० प्रतिशत जमिनमा चैते धान खेती गर्ने सम्भावना छ । बसन्ते सिजनमा गर्न सकिने अन्य बालीहरुको व्यावसायीक खेतीको लागि ५० प्रतिशत क्षेत्रफल घटाउँदा पनि लगभग ८००० हेक्टरमा (१६००० हे खेतीयोग्य जमिन) चैतेधान खेती गर्न सकिने हुन्छ । प्रति हेक्टर न्यूनतम ४.५ मेट्रिक टनका दरले उत्पादन गणना गर्दा पनि ३६००० मे. ट. धान उत्पादन हुनेछ भने सो बाट न्यूनतम रु. २२००० प्रति मे.ट. का दरले हिसाब गर्दा पनि लगभग रु. ८० करोड बराबरको थप उत्पादन गर्न सकिने छ । यो रकम नेपालमा चामल आयातका लागि हुने माथि उल्लिखित खर्चको लगभग ३ प्रतिशत हो । यसले देशको आयात प्रतिस्थापनको अलावा यस राजापुर क्षेत्रलाई लगभग रु. ८० करोड बराबर थप आम्दानी दिने छ । यो बचत नेपालका २ वटा मात्र स्थानिय तहका कृषक महानुभावले गर्नसक्ने योगदान हो । हामी अनुमान गर्नसक्छौं सबै सम्भाव्य क्षेत्रका कृषकले प्रयास गरे आत्म निर्भरता कुनै टाढाको कुरा हैन । यसका लागि यो परियोजना कार्यान्वयन एकाई प्रयासरत छ ।

यसका लागि यस परियोजना कार्यान्वयन एकाईको एक्लो प्रयासले सम्भव छैन । चैतेधान खेतीमा संलग्न राजापुर टापु क्षेत्रका कृषक महानुभावहरुको सहयोग र सदिच्छा सबै भन्दा महत्वपूर्ण हुनेछ । अहिले पनि सहयोग प्राप्त भैरहेको छ । तर देशलाई चामलमा आत्मनिर्भर बनाउने राष्ट्रिय बृहद लक्षका लागि अहिलेको भन्दा धेरै ठूलो स्तरमा चैते धान खेती विस्तार गर्नु जरुरी छ । त्यस्तै कृषि विकासको संविधानतः महत्वपूर्ण जिम्मेवारी पाएका स्थानीय तहहरु राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको यस बृहद लक्ष्यका लागि अहिलेको जस्तै समन्वयमा मात्र सिमित नरही एकिकृत रुपमा यस अभियानमा सङ्गै जाने वातारण बनाउनु अँझ जरुरी छ । उपर्युक्त रणनीतिहरु कार्यान्वयन गर्ने तर्फ यस परियोजना कार्यन्वयन इकाई थप प्रयत्न गर्नेछ ।

उल्लेखित रणनीतिहरु अनुरुप यस परियोजना कार्यान्वयन एकाईले गरेका हालसम्मका कृयाकलापहरु र प्राप्त प्रतिफललाई यस वेवसाईटमा राख्ने प्रयास गरिएको छ । यस वेवसाईटले यस कार्यालयले गरेका गतिविधिहरुलाई सरोकारवालाहरुबीच पारदर्शि रुपमा राखेर उल्लेखित उद्देश्यहरुलाई प्रभावकारीरुपमा हासिल गर्न मद्दत गर्नेछ । यसलाई अँझ प्रभावकारी र कृषक मैत्री बनाउन सबै सरोकारवालाहरुबाट रचनात्मक सुझावहरुको यस एकाईले अपेक्षा गर्दछ ।

धन्यबाद !!!

© 2020 Copyright : परियोजना कार्यान्वयन एकाई, बर्दिया
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.